जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी सामाखुसीबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार रहेका एक कैदी काठमाडौँको सामाखुसीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ जिल्ला, सिद्धलेक गाउँपालिका वडा नं.३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका उनी ‘जेन-जी’ आन्दोलनको क्रममा कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।

कारागारबाट भागेपश्चात् काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो बाट खटिएको प्रहरी टोलीले उनलाई असोज १६ गते काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसीबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय सुन्धारामा पेस गरिएको प्रहरीले जनाएको छ ।