
काठमाडौँ । म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यवस्तुमा नयाँ मिति र नक्कली लेबल राखेर बिक्री गरेको आरोपमा काठमाडौँमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको तिनथानामा बस्दै आएका ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल तिनथानामै बस्दै आएका ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर रि-लेबलिङ गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट मिति राख्ने मेसिन एक थान, विभिन्न खाद्यवस्तुका लेबलिङ स्टिकर, म्याद गुज्रिएको काजु एक बाल्टी, पेस्ता र आल्मण्ड एक-एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा र हरियो केराउ एक बोरा बरामद गरिएको छ।
त्यस्तै, बोरा सिलाउने मेसिन, ल्यापटप र प्रिन्टरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यवस्तुमा नयाँ मिति र लेबल राखेर बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।