
काठमाडौँ । यस वर्षको मनसुनी वायु नेपालका पश्चिमी भू–भागबाट बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) सम्ममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा गण्डकी प्रदेशका पश्चिमी भू-भागका केही स्थानबाट मनसुन बाहिरिएको हो।
महाशाखाले जारी गरेको ‘मनसुन बुलेटिनका अनुसार मनसुनी वायु क्रमशः कमजोर हुँदै गएकाले देशका बाँकी भू-भागबाट पनि आगामी केही दिनभित्र मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको छ।
हाल देशका पूर्वी तथा मध्य भू-भागमा मात्र मनसुनको आंशिक प्रभाव बाँकी रहेको महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बाहिरिने प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसमको अवस्थाअनुसार थप जानकारी तथा अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने महाशाखाले जनाएको छ।
