
धादिङ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट ३५ वर्षमुनिको ‘युवा खुला’ तर्फ जेनजी पुस्ताका आश्विन दुवाडी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रत्यक्ष प्रतिस्पर्धाबाट चुनिएका दुवाडीले ५ सय ५९ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिको स्थान सुनिश्चित गरेका हुन्।
३५ वर्षमुनिको युवा खुलातर्फ ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। सोही समूहबाट गोपिकृष्ण भण्डारी सर्वाधिक ८ सय ५८ मत प्राप्त गरी विजयी भएका छन्। विजयी अन्य उम्मेदवारको तुलनामा दुवाडी भने नेपाली कांग्रेसमा उदाउँदो नयाँ (जेनजी) पुस्ताका प्रतिनिधिको रूपमा रहेका छन्।
पछिल्लो समय नेपाली कांग्रेससहितका परम्परागत राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण, सुशासन, पारदर्शिता र नयाँ पुस्ताको पहुँचबारे तीव्र बहस भइरहेको छ। विशेष गरी पछिल्ला सामाजिक-राजनीतिक घटनाक्रम र ‘जेनजी’ आन्दोलनसँगै युवापुस्ताको चासो राजनीतिमा बढ्दै गएको सन्दर्भमा, तल्लो तहमै प्रत्यक्ष चुनाव जितेर दुवाडीको आगमन हुनुलाई पार्टी संगठनमा नयाँ पुस्ताको उपस्थितिको सूचकका रूपमा हेरिएको छ।
नेपाली कांग्रेसको संशोधित विधानले राष्ट्रिय युवा नीति (१८–३५ वर्ष) को मापदण्डअनुसार वडादेखि केन्द्रीय कार्यसमितिसम्म र क्षेत्रीय, प्रदेश एवं महाधिवेशन प्रतिनिधिमा युवाका लागि निश्चित कोटाको व्यवस्था गरेको छ। सोही वैधानिक व्यवस्थाअन्तर्गत धादिङ-२ मा भएको चुनावी प्रतिस्पर्धाले स्थानीय स्तरमै पुस्तान्तरण र युवा सहभागिताको विषयलाई बहसको सतहमा ल्याएको छ।
परम्परागत राजनीतिक अभ्यास र संरचनाबीच चुनावी प्रतिस्पर्धाबाटै आएका दुवाडी जस्ता युवा प्रतिनिधिहरूले १५औँ महाधिवेशनमा नयाँ पुस्ताका मुद्दा र सुशासनका सवाललाई कसरी प्रस्तुत गर्छन् तथा पार्टीको भावी संगठनात्मक दिशामा कस्तो भूमिका खेल्छन् भन्ने विषय पनि अब झन् महत्त्वपूर्ण भएको छ।