
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कब्जा गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बागमती प्रदेश सरकारबाट समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएको सुमेरु सहकारीको सम्पत्ति लिलाम बिक्री गर्न लागिएको हो।
सहकारी संस्थाको पूर्ण लगानी रहेका विभिन्न सम्पत्ति तथा व्यवसाय अनुमति पत्रसमेत लिलाम बिक्री गरिने सूचनामा उल्लेख छ।
सम्बन्धित कम्पनीको नाममा रहेका बैंक ऋण भुक्तानी गर्न तथा कम्पनीहरूले सहकारीबाट लिएको ऋण असुल गरी बचतकर्ताको बचत फिर्ता गर्ने उद्देश्यले सम्पत्ति लिलाम गर्न लागिएको समितिले जनाएको छ।
समितिले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८३ को खण्ड (ठ) र (ढ) बमोजिम कब्जा गरेको सम्पत्ति नेपाल सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट २०८३ असार १२ गते स्वीकृत ‘समस्याग्रस्त संस्था वा संघको सम्पत्ति लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०८३’ अनुसार लिलाम बढाबढमार्फत बिक्री गर्ने निर्णय गरेको हो।
लिलाम बिक्री प्रक्रियामा ललितपुर महानगरपालिका–३ मा रहेको सुमेरु सिटी अस्पताल प्रालि तथा राजमाया महर्जनका नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू राखिएका छन् । त्यसका साथै ती जग्गाहरूमा बनेका भवन तथा अन्य संरचनाहरू, बायोमेडिकल इन्जिनियरबाट मूल्यांकन भएका अस्पतालका पुँजीगत सामग्री र उपकरणहरू पनि लिलाममा राखिएका छन् ।
त्यस्तै सुमेरु अस्पताल र शङ्खरापुर कलेजको सञ्चालन अनुमति पत्र (लाइसेन्स) र कलेजद्वारा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रम तथा चल सम्पत्तिहरू समेत लिलाम बिक्री गरिने सूचनामा उल्लेख छ।
लिलाममा राखिएका सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत प्रस्ताव पेस गर्न सक्नेछन् ।
समितिले लिलाममा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थालाई तोकिएको प्रक्रिया र सर्त पूरा गरी बोलपत्र पेस गर्न आग्रह गरेको छ।
