
काठमाडौँ । चाडपर्व, मौसम खराबी वा आपत्कालीन समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा यस्तो व्यवस्था गरिएको हो।
विधेयकको दफा ४७ ले हवाई भाडासम्बन्धी बदमासीलाई कसुरका रूपमा समेटेको छ । दफाको खण्ड (ड) अनुसार प्राधिकरणले स्वीकृत गरेको हवाई भाडादरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गरेमा त्यसलाई ऐन बमोजिमको कसुर मानिनेछ।
त्यस्तो कसुर प्रमाणित भएमा वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था विधेयकले गरेको छ । दफा ४८ को उपदफा (१) को खण्ड (ख) ले यस्तो कसुरमा महानिर्देशकलाई जरिवाना गर्ने अधिकार दिएको छ।
यस्तै, एकपटक कारबाहीमा परिसकेको व्यक्ति वा संस्थाले पुनः सोही कसुर दोहोर्याएमा अघिल्लो पटक गरिएको जरिबानाको दोब्बर जरिवाना हुने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।