
धनगढी । कैलालीमा ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका-३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन् ।
उनीहरूलाई बिहीबार दिउँसो भजनी नगरपालिका-३ स्थित ठेकीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएको भनिएका से ४ प ११७१ र सु.प.प्र. ०१-०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।