वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा चार जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै नेपाली युवायुवतीबाट लाखौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदेश पठाइदिने भन्दै प्रलोभनमा पारेर रकम लिएपछि लामो समयसम्म झुलाउने र सम्पर्कविहीन हुने गरेको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ का ३२ वर्षीय वीरेन्द्र तामाङ छन् । हाल ललितपुर महानगरपालिका-१५ मा बस्दै आएका तामाङले बेलायत पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ का ३८ वर्षीय कमलप्रसाद गौतम पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-९ मा बस्दै आएका गौतमले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट १ लाख रुपैयाँ लिएको प्रहरीको विवरणमा उल्लेख छ ।

अछामको ढकारी गाउँपालिका-४ का ३३ वर्षीय गणेशबहादुर बुढा पनि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ मा बस्दै आएका बुढाले अस्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै दुई जनाबाट ३ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ ।

यसैगरी रामेछापको रामेछाप नगरपालिका-६ का ४४ वर्षीय बद्रीकुमार तामाङ पक्राउ परेका छन् । हाल काभ्रेको गोखर्णेश्वर नगरपालिका-९ मा बस्दै आएका तामाङले पोल्यान्ड पठाइदिने भन्दै पाँच जनाबाट २१ लाख ८९ हजार रुपैयाँ लिएको प्रहरीले जनाकएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चार जनाबाट पीडित १० जना रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीका लागि आकर्षक तलब र विदेश पठाइदिने आश्वासन देखाएर रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको वैधानिकता जाँच गर्न र आधिकारिक प्रक्रियाबाट मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस