
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक राजेन्द्र बुढाथोकीले आफ्नो नयाँ गीत ‘उडेर आउँ भने’ सार्वजनिक गरेका छन् । उनको यो गीत त्रिमूर्ति आर्टस् इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
यसअघि ‘टालाटुली बटुली’ बोलको गीतबाट चर्चा कमाएका बुढाथोकीले नयाँ गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएका छन् ।
‘उडेर आउँ भने’मा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र कुशल सिंहको संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।
गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन् । लक्ष्मी बर्देवाको अवधारणामा तयार भएको भिडियोको निर्देशन जीवन भट्टराईले गरेका हुन् ।
गायक बुढाथोकीकै त्रिमूर्ति आर्ट एण्ड इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
बुढाथोकीले यसअघि ‘टालाटुली बटुली’, ‘भन्नुहुन्थ्यो बा ले’, ‘आफै कुरा बुझ मायाले’, ‘हेर न पियारी’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् । उनका करिब एक दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् ।
बुढाथोकीका त्यति नै संख्यामा अडियो रेकर्ड भइसकेका गीतसमेत सार्वजनिक हुन बाँकी रहेको बताइएको छ । नयाँ गीतसँगै उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउने प्रयास गरिरहेका छन् ।





