
बुटवल । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिका अपहरण गरेर करिब ३८ घण्टा जंगलमा लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई गोली हानेर पक्राउ गरेको हो ।
आइतबार राति कान्छी बजारस्थित जंगलबाट थारुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाउनु परेको प्रहरीको भनाई छ । आरोपी थारुको गोली लागेर उनको खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए ।
थारुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भइरहेको बताइएको छ ।
कसरी भयो बालिकाको अपहरण?
प्रहरीका अनुसार बुधबार राति बालिका घरभित्र सुतिरहेकी थिइन् । राति करिब २ बजेतिर उनकी हजुरआमा बालिकालाई कपडा ओढाइदिन खोज्दा ओछ्यानमा भेटिनन् । घरभित्रै सुतिरहेकी बालिका अचानक हराएपछि परिवारमा हल्लाखल्ला भयो । त्यसपछि छिमेकीमार्फत प्रहरीलाई खबर गरियो ।
बालिका हराएको सूचना पाएलगत्तै बिहीबार बिहानदेखि प्रहरीले गाउँ आसपास र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्न सकिने केही आधार फेला पारेको थियो ।
प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो । अपहरण भएको करिब ३८ घण्टापछि बालिका भेटिएकी थिइन् ।
उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ । तर, बालिका भेटिए पनि आरोपित थारु त्यतिबेलासम्म फरार भइसकेका थिए ।
प्रहरीले उनी जंगलमै लुकेर बसेको आशंका गर्दै खोजीलाई निरन्तरता दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी श्रीवास्तवका अनुसार बालिकाको उद्धारपछि प्रहरीले मुख्य प्राथमिकता आरोपितलाई पक्राउ गर्नुमा केन्द्रित गरेको थियो ।
प्रहरीले जंगल क्षेत्रमा घेराबन्दी गरेर खोजी गरे पनि थारु फेला परेनन् । शनिबार पनि उनको सम्भावित लोकेशन पहिचान गरेर पक्राउको प्रयास गरिएको प्रहरीको भनाइ छ ।
तर उनी प्रहरीको घेराबाट उम्किएको प्रहरीले जनाएको छ । आइतबार राति करिब १ बजे पुनः खोजी गर्ने क्रममा थारुलाई जंगलबाट फेला पारिएको थियो । प्रहरीका अनुसार त्यस क्रममा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको हो ।
गोली लागेपछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याइएको छ ।
बालिका अहिले प्रहरीको सुरक्षा आश्रयस्थलमा रहेकी छन् । घटनाको अनुसन्धानमा संलग्न डीएसपी निशान्त श्रीवास्तवले अपहरणकारीको आपराधिक पृष्ठभूमि र व्यवहारका कारण बालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिइएको बताए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।