रेड बुल १३औँ कृति अवार्ड्सको ‘कृति कनेक्ट’ सम्पन्न

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।

‘Creativity Connect, where it all starts’ नारासहित आयोजित कार्यक्रममा नेपाली विज्ञापन तथा बजारीकरण क्षेत्रका विज्ञ, एजेन्सी प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

यसअघि कृति अवार्ड्सका क्रममा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड, प्रक्रिया तथा प्रशासनिक विषयमा जानकारी गराउन ‘एजेन्सी ब्रीफिङ सेसन’ आयोजना हुँदै आएको थियो। यस वर्ष भने गैर-सदस्य एजेन्सीलाई समेत समेट्दै कार्यक्रमको दायरा विस्तार गरी ‘कृति कनेक्ट’का रूपमा आयोजना गरिएको आनले जनाएको छ ।

कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । साथै, नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका विविध आयाममाथि छलफलसमेत गरिएको थियो ।

आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले कृति अवार्ड्सको उद्देश्य, आवश्यकता र यसको उपादेयताबारे धारणा राखेका थिए ।

त्यस्तै, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले यस वर्ष आयोजना हुन लागेको कृति अवार्ड्सको १३औँ संस्करणका विभिन्न पक्षबारे जानकारी गराएका थिए ।

हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जित्न सफल मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्डका लागि तयारी तथा प्रस्तुतिकरण गर्दा ध्यान दिनुपर्ने विषयबारे सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रमको समापनमा आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपाली विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, अवार्ड प्रक्रियामा पारदर्शिता कायम गर्न तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

रेड बुलको मुख्य प्रायोजनमा आयोजना हुन लागेको १३औँ कृति अवार्ड्समा इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका-कोला र यति इन्टरनेशनल कलेज ‘पावर्ड बाई’ प्रायोजक रहेका छन् । एनसेल, प्राइम टाइल्सलगायत प्रतिष्ठित ब्रान्डहरू ‘सपोर्टेड बाई’ प्रायोजकका रूपमा जोडिएका छन् ।

सम्बन्धित खबर

सिफारिस