हाजी आँखा अस्पताल सेयर विवादः १ करोड ५९ लाख भुक्तानी भएको दाबी, पूर्वसञ्चालकद्वारा रकम नपाएको गुनासो

दियोपोस्ट संवाददाता

 विराटनगर । सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको भन्दै अस्पतालका पूर्वसञ्चालकहरूले लगाएको आरोप विराटनगर-१४ रानीस्थित हाजी आँखा अस्पताल प्रालिले अस्वीकार गरेको छ।

अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै पूर्वसञ्चालकहरू डा. गुणराज कट्टेल, ज्याउन कमर, राजेश साह र मो. अतहर अन्सारीले रकम नपाएको भन्दै गरेको दाबी ‘निराधार, भ्रामक र तथ्यहीन’ भएको जनाएको छ।

अस्पतालका अनुसार यी चारै जनाले सेयर बिक्री गरी बाहिरिने क्रममा पाउनुपर्ने रकमभन्दा बढी नै भुक्तानी भइसकेको छ। अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. गुणराज कट्टेललाई विभिन्न बैंकमार्फत तथा नगद गरी करिब ५७ लाख रुपैयाँ भुक्तानी गरिएको दाबी गरिएको छ।

त्यस्तै, ज्याउन कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६ सय रुपैयाँमध्ये १० लाख रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ९ लाख ६२ हजार ६ सय रुपैयाँ नगद भुक्तानी गरिएको अस्पतालको भनाइ छ ।

राजेश साहलाई पाउनुपर्ने २० लाख ६३ हजार ४ सय रुपैयाँको तुलनामा बैंकमार्फत २१ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यो रकम पाउनुपर्नेभन्दा ९८ हजार ६ सय रुपैयाँ बढी हो ।

यस्तै, मो. अतहर अन्सारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १ सय ५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४ सय ९५ रुपैयाँ उनका पिता कादिर अन्सारीको नाममा रहेको खातामार्फत र बाँकी ५ लाख ७२ हजार ६ सय ६१ रुपैयाँ नगद भुक्तानी गरिएको अस्पतालको दाबी छ ।

अस्पतालले यी चारै जनालाई सेयरबापत दिनुपर्ने कुल रकम करिब १ करोड ५८ लाख रुपैयाँ रहेकोमा आफूहरूले कुल १ करोड ५९ लाख ८७ हजार ७ सय ५३ रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।

अस्पतालले सेयर खरिदका क्रममा ग्यारेन्टीका रूपमा दिइएको कुमारी बैंकको चेकलाई आधार बनाएर आफूलाई अनावश्यक दुःख दिने प्रयास भएको आरोप लगाएको छ ।

सेयरबापतको रकम प्राप्त गरिसकेपछि पनि सोही चेकका आधारमा अस्पताललाई कालोसूचीमा राख्ने प्रयास गर्नु आपत्तिजनक भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बन्नु कुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले उच्च अदालतको फैसलाको सम्मान गर्दै पुनः १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको दाबी गरेको छ । तर, बैंकमा रकम जम्मा भइसकेपछि पनि सम्बन्धित व्यक्तिहरूले रकम नबुझी सञ्चारमाध्यममा गएर अस्पताल र आफूविरुद्ध चरित्रहत्या गर्ने प्रयास गरेको अस्पतालको आरोप छ ।

अब विवादको मुख्य प्रश्न भनेको सेयरबापतको रकम वास्तवमै भुक्तानी भइसकेको हो वा होइन भन्ने हो । अस्पतालले बैंक कारोबार, नगद भुक्तानी तथा रकम जम्मा गरिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको दाबी गरेको छ । तर, पूर्वसञ्चालकहरूले भने रकम नपाएको दाबी गर्दै सञ्चारमाध्यममा विषय उठाएका छन् ।

यसले विवादलाई केवल आरोप-प्रत्यारोपमा सीमित नराखी भुक्तानीका बैंकिङ कागजात, नगद बुझाएको प्रमाण, सेयर हस्तान्तरणसम्बन्धी अभिलेख र अदालतका आदेशले वास्तविकता के देखाउँछन् भन्ने प्रश्न उठाएको छ ।

अस्पतालले सत्यतथ्य नबुझी प्रकाशित भएका समाचारबाट भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरेको छ । साथै, संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने गरी समाचार तथा अभिव्यक्ति दिने पक्षविरुद्ध कडा कानुनी उपचारमा जाने चेतावनीसमेत अस्पतालले दिएको छ ।

 

सम्बन्धित खबर

सिफारिस