सडक मर्मत गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

दियोपोस्ट संवाददाता

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो ।

लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेका बेला खसेको ढिस्कोमा उनीहरु पुरिएका थिए । सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकखण्डमा जेसीबीमार्फत सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो ।

प्रहरीका अनुसार दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो । घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका-५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस