
काठमाडौँ । भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरेको छ। गुजरा नगरपालिका-५, लक्ष्मीपुरस्थित मह्मद मुजामिल मियाले सञ्चालन गरेको मदिना इँटाभट्टामा काम गर्न आएका भारतीय मजदुरहरू अलपत्र अवस्थामा फेला परेका हुन्।
भारतबाट ठेकेदारमार्फत इँटाभट्टामा काम गर्न आएका उनीहरूलाई नेपाल ल्याउने ठेकेदार सम्पर्कविहीन भएपछि मजदुर तथा उनीहरूका आश्रित परिवार भट्टामै अलपत्र परेका थिए।
अलपत्र भारतीय नागरिकबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामा १२ जना पुरुष, ११ जना महिला, १० जना बालक र ९ जना बालिका गरी ४२ जना रहेका छन् । प्रहरीले उनीहरूलाई ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सारसम्म पुर्याएको थियो । गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।