विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, बेलुन र ड्रोन नउडाउन आग्रह गरेको छ । बडादसैँको चहलपहल बढेसँगै चंगा उडाउने क्रम बढ्ने भएकाले प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो ।

विमान उड्ने तथा अवतरण गर्ने क्षेत्रमा चंगा, बेलुन वा ड्रोन पुगेमा हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने प्राधिकरणले जनाएको छ ।

विशेषगरी चंगाको डोरी, बेलुन तथा ड्रोनका कारण विमानको सुरक्षित सञ्चालनमा बाधा पुग्ने जोखिम रहेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपासका क्षेत्रमा हवाई सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँगको सहकार्यमा नियमित रूपमा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यालयले सर्वसाधारण, अभिभावक तथा बालबालिकालाई विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन आग्रह गरेको छ । सुरक्षित हवाई उडानका लागि सबै पक्षको जिम्मेवार सहभागिता आवश्यक रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस