
सल्यान । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट-तुलसीपुर सडकखण्डमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला नजिक सोमबार बिहान करिब ११ः३० बजे एक्कासि सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
पहिरो करिब ८० मिटर सडक क्षेत्रमा खसेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि कपुरकोट हुँदै तुलसीपुरतर्फ जाने तथा तुलसीपुरबाट सल्यानतर्फ आउने ठूलो संख्यामा साना तथा ठूला सवारीसाधन बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउन स्काभेटर परिचालन गरिएको छ । तर, पहिरोको मात्रा र सडकको अवस्थाका कारण अवरुद्ध सडक खुलाउन चारदेखि पाँच घण्टासम्म लाग्न सक्ने प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
राप्ती राजमार्ग सल्यानलाई दाङ, तुलसीपुरलगायत विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक हो । राजमार्ग अवरुद्ध भएपछि यस सडकबाट हुने यातायात सेवा प्रभावित भएको छ । पहिरो पन्छाउने काम सम्पन्न भएपछि मात्र सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।
वर्षायाम सकिए पनि राजमार्गका विभिन्न क्षेत्रमा सुख्खा पहिरो तथा ढुंगा खस्ने जोखिम कायमै रहेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।