भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ताको खोज तथा उद्धार कार्य स्थगित गर्ने सरकारको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि जारी खोज तथा उद्धारको चरणलाई हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अत्यावश्यक खोज तथा उद्धारबाहेकका गतिविधि रोक्दै अब पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय सरकारले गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक खोज तथा उद्धारका काम भने निरन्तर राख्दै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका काम तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरण स्थगित गर्ने निर्णय गरिएको सरकारले जनाएको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउन सरकारले प्रक्रिया अगाडि बढाएको छ ।

ती योजनाका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय बैठकले गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत आवश्यक स्रोत व्यवस्थापन गरिनेछ ।

त्यस्तै, लागत अनुमान स्पष्ट नभएका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

 

सम्बन्धित खबर

सिफारिस