चितवनमा जिप-ट्याक्टर ठोक्किँदा एक महिलाको मृत्यु, चालकसहित १० जना घाइते

दियोपोस्ट संवाददाता

चितवन । चितवनको कालिका नगरपालिका-५ स्थित वडा कार्यालय चोकमा जिप र ट्याक्टर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा ३-०१-०२४ च ३४७३ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कालिका नगरपालिका-३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार दिउँसो २ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई घटनास्थलबाट उद्धार गरी पुरानो मेडिकल कलेजमा लगिएको थियो । घाइतेमध्ये कालिका-३ की सावित्री माझी, कविता परियार, मैया कुमारी लोप्चन, जुनी सुनार, उमा वाईवा, पवित्रा विक, लालकुमारी गुम्बा र सितामाया श्रेष्ठ तथा कालिका-७ की उमा श्रेष्ठ छन् । बोलेरो चालक कालिका-३ का ३९ वर्षीय कोमलबहादुर श्रेष्ठ पनि घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका-१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ । बोलेरो चालकसमेत घाइते भएकाले अस्पतालमा उपचाररत छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस