५० हजार रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध अख्तियारको मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

यादव नेपाल विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रमा कार्यरत थिए । उनले इटहरी उपमहानगरपालिका-८ स्थित एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यादवले विद्युत् लाइन जडानको सेवा दिनुपर्ने काममा बदनियतपूर्ण रूपमा ढिलासुस्ती गरी सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएका थिए । त्यसपछि लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस मागी लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानका क्रममा यादवले आफ्नो ओहदा तथा जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो बराबर जरिवाना तथा ऐनबमोजिम कैद सजायको मागदाबी गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस