भन्सार छलेर ल्याइएका १० लाखभन्दा बढी मुल्यका सामान बरामद

दियोपोस्ट संवाददाता

वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक चोकबाट प्रहरीले भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका चार थान आइफोन बरामद गरेको हो ।

बरामद मोबाइलमा आइफोन-१७ का तीन थान र आइफोन-१५ को एक थान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मोबाइलको कुल मूल्य ५ लाख ५२ हजार २१० रुपैयाँ रहेको छ ।

यसैगरी, वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको कस्मेटिक सामान र स्याउ समेत बरामद गरिएको छ । ती सामानको मूल्य ४ लाख ५४ हजार ५५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट बरामद सामानको कुल मूल्य १० लाख ६ हजार ७६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।