
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्य-सचिव रविन्द्र चन्दलगायतको उपस्थिति थियो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले दसौँ राष्ट्रिय खेलकुदको तयारी र आयोजनासम्बन्धी अन्योल अन्त्य गर्न मूल आयोजक समितिको बैठक सुर्खेतमै आयोजना गरिएको बताए ।
उनले दसौँ राष्ट्रिय खेलकुद सञ्चालनलाई लक्षित गर्दै प्रदेश सरकारले कर्णाली प्रदेश रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाएको उल्लेख गरे । प्रतियोगिता सफल बनाउन प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढिरहेको उनको भनाइ थियो ।
मूल आयोजक समितिको बैठक सुर्खेतमा बस्नुले संघीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता सम्पन्न गर्न प्रतिबद्ध रहेको सन्देश गएको पनि मुख्यमन्त्री शाहीले बताए ।
सामाजिक विकासमन्त्री मल्ल र राखेप सदस्य-सचिव मेहताले दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न ३२ खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।