अनेसासका संस्थापक रेग्मी र सुवेदीलाई ‘संस्थापक गौरव सम्मान’

दियोपोस्ट संवाददाता

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्थाका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ ।

नेपाली भाषा-साहित्य तथा अनेसासको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेग्मी र सुवेदीलाई सम्मान गरिएको हो । यस्तै, अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको छ ।

कार्यक्रमको सुरुआत गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो । त्यसपछि प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष अधिवक्ता कमला ओलीले स्वागत मन्तव्य राखेकी थिइन् । च्याप्टरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति मन्जिला अनिल शर्माले अग्रज साहित्यकार तथा संस्थाका अभियन्ताको योगदानलाई सम्मान गर्दा उनीहरूको अनुभव र संस्थागत यात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने बताइन् ।

सम्मानित व्यक्तित्वहरूलाई रुद्राक्षको माला, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्रमा उल्लिखित व्यहोरा च्याप्टरका सचिव खेमराज न्यौपाने र सदस्य शान्ति रिसालले वाचन गरेका थिए ।

अनेसासका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष भीमप्रसाद रेग्मीले संस्थाको प्रारम्भिक यात्रादेखि विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व गरेका थिए । पुरुषोत्तम सुवेदी पनि संस्थापक सदस्य हुँदै पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीको नेतृत्व तहमा रहेर अनेसासको संस्थागत विकासमा संलग्न रहँदै आएका छन्। त्यस्तै, प्रवासमा रहेर नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा सक्रिय शेखर ढुङ्गेल अनेसास क्यालिफोर्निया च्याप्टरसँग आबद्ध छन् ।

कार्यक्रममा अनेसासकी पूर्व उपाध्यक्ष डा. रेणु थापा सोलुलाई ‘अनेसास नवरत्न पुरस्कार-२०२६’ समेत प्रदान गरिएको थियो । अनेसास केन्द्रले घोषणा गरेको उक्त पुरस्कार नेपाल च्याप्टरको कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

त्यसैगरी अनेसासकी पूर्व केन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार खेमनाथ दाहालले नेपालमा अनेसासको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले च्याप्टरकी अध्यक्ष मन्जिला शर्माले च्याप्टरका लागि भूमिदान गरेकोमा प्रशंसा गर्दै संस्थाको दीर्घकालीन विकासका लागि भौतिक पूर्वाधार आवश्यक रहेको बताए। दाहालले अनेसासकी माता स्वर्गीय नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने धारणा पनि राखे ।

अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेले नेपाल च्याप्टरलाई केन्द्रबाट आवश्यक सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए। उनले अनेसासको संस्थागत विकासका लागि आफ्नै भवन निर्माणको आवश्यकता रहेको उल्लेख गरे ।

च्याप्टरकी पूर्व अध्यक्ष तथा पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले भीमप्रसाद रेग्मीको अनेसासप्रतिको योगदानको चर्चा गर्दै सम्मानका लागि बधाई दिइन् । पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले पुरुषोत्तम सुवेदी र शेखर ढुङ्गेलको व्यक्तित्व तथा योगदानबारे चर्चा गर्दै सम्मान कार्यक्रम आयोजना गरेकोमा नेपाल च्याप्टरलाई धन्यवाद दिए ।

सम्मानित व्यक्तित्व भीमप्रसाद रेग्मीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो लामो यात्रा, अनुभव र नेपाली भाषा–साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राखे । उनले अनेसासको आजीवन सदस्यता अद्यावधिकको विषयमा समेत आफ्नो धारणा प्रस्तुत गरे ।

पुरुषोत्तम सुवेदीले पनि सम्मानका लागि आभार व्यक्त गर्दै नेपालमा अनेसासको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । विश्वभर रहेका अनेसासका च्याप्टरसँग भवन निर्माणका लागि आवश्यक सहयोग जुटाउन समन्वय गर्ने उनले बताए ।

नेपाली भाषा तथा साहित्यका अध्येता एवं समालोचक प्राडा. खगेन्द्रप्रसाद लुइटेलले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जना र संस्थागत यात्रासँग जोड्ने कामलाई निरन्तरता दिनुपर्ने बताए। उनले नेपाल च्याप्टरले आयोजना गरेको सम्मान कार्यक्रमको प्रशंसा गरे ।

प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै नेपाली साहित्यको समृद्धिका लागि सिर्जना, साधना र संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले राष्ट्रभक्ति गीत तथा गजेन्द्र बोहोराले गजल प्रस्तुत गरेका थिए । उपाध्यक्ष रञ्जना निरौलाले उपस्थित अतिथि, स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा काठमाडौंमा सक्रिय विभिन्न साहित्यिक संस्थाका नेतृत्व तथा साहित्यकारहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पाँच दर्जनभन्दा बढी साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए । कार्यक्रम समापनपछि सम्मानित व्यक्तित्व, अतिथि तथा अनेसासका पदाधिकारीहरूले सामूहिक तस्बिर खिचाएका थिए ।