भारी वर्षापछि आएको बाढीले रुकुम पश्चिममा घर-पसल र गोठ बगायो

दियोपोस्ट संवाददाता

रुकुम पश्चिम । भारी वर्षापछि आएको बाढीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० अर्माखोलामा घर, पसल, गोठ तथा पानीघट्ट बगाएको छ । मंगलबार राति करिब साढे ८ बजे परेको भारी वर्षापछि अर्माखोलामा आएको बाढीले स्थानीय उज्वन खड्काको घर बगाएको हो ।

बाढीको जोखिम बढेपछि खड्काको परिवार भने घर छाडेर सुरक्षित स्थानमा गएकाले मानवीय क्षति हुनबाट जोगिएको वडाध्यक्ष टिकाराम खड्काले बताए । उनका अनुसार बाढीले घरसँगै एक तोला सुनका गरगहना, १० हजार रुपैयाँ नगद, भाँडाकुँडा, अन्नपात, एउटा भैंसी तथा १० वटा भेडाबाख्रा बगाएको छ ।

बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर विकका किराना पसलसमेत बगाएको छ । त्यस्तै, गंगाराम खड्काको गोठ बगाउँदा तीन वटा भैंसी तथा पञ्चराम डाँगीका दुई वटा गोरु पनि बाढीमा परेका छन् ।

बाढीका कारण अर्माखोलामा रहेका १० वटा पानीघट्टसमेत बगेका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट ठूलो भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीबाट क्षति भएको जानकारी प्राप्त भएको बताए ।

प्रहरी टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरिरहेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर