टोखामा खाद्य विभागको अनुगमन : ग्राण्ड खानेपानीका १० जार नष्ट

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको टोखा नगरपालिका-६ मा रहेका ग्राण्ड खानेपानी सेवा प्रालि र थ्री स्टार फुड्स प्रालिको अनुगमन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागको टोलीले सोमबार दुवै उद्योगको अनुगमन गरेको हो।

अनुगमनका क्रममा ग्राण्ड खानेपानी सेवा प्रालिमा जारको पानी प्रशोधन भइरहेको पाइएको थियो । उद्योगको सरसफाइ तथा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको विभागले जनाएको छ । तर, उद्योगमा कुच्चिएका तथा टुटेफुटेका जार प्रयोग भइरहेको पाइएको थियो।

अनुगमनका क्रममा कुच्चिएका तथा टुटेफुटेका जार प्रयोगमा रहेको पाइएपछि १० थान जार नष्ट गरिएको विभागले जनाएको छ । साथै, थप अनुसन्धानका लागि ऐनबमोजिम प्रशोधित पानीको नमुना संकलन गरिएको पनि विभागले जनाएको छ।

यस्तै, थ्री स्टार फुड्स प्रालिको अनुगमनका क्रममा उद्योगको सरसफाइ तथा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको पाइएको थियो । उद्योगमा प्रेसर कन्ट्रोलको व्यवस्था भए पनि कोल्ड रुम अव्यवस्थित रहेको र झ्याल खुला रहेको पाइएको विभागले जनाएको छ।

विभागले उद्योगको भण्डारण तथा कोल्ड रुम व्यवस्थित गर्न, खाद्य स्वच्छता कायम गर्न र तयारी खाद्य पदार्थको गुणस्तर सुनिश्चित गरेर मात्र बिक्री-वितरण गर्न निर्देशन दिएको छ।