
काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री बन्द गरी आधिकारिक डिलरमार्फत मात्र बिक्री-वितरणको व्यवस्था गर्न नेपाल आयल निगमसँग माग गरेको छ ।
महासंघले मंगलबार निगमलाई पत्र पठाउँदै उद्योगबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल रोक्न र आधिकारिक डिलरमार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको हो ।
महासंघका अनुसार २०८२ साल फागुन २८ गतेदेखि नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको छ । हालसम्म पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै महासंघले यसको मुख्य कारण बजारमा आवश्यकताभन्दा बढी सिलिण्डर हुनु रहेको बताएको छ ।
बजारमा सिलिण्डरको संख्या अत्यधिक रहेको विषय स्वीकार गर्दागर्दै पनि विभिन्न ग्यास उद्योगले २ हजार ५०० देखि २ हजार ७०० सम्ममा नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले निगम र सरकारको भूमिकाप्रति प्रश्न उठाएको छ ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी फिर्ता गर्नुको सट्टा आगामी वर्षमा उपभोक्तालाई थप आर्थिक भार पर्ने गरी ५, १९, ५० र ४५० केजीका सिलिण्डर बिक्री गर्ने योजना स्वीकार्य नहुने जनाएको छ ।
ग्यासको सहज आपूर्तिका लागि समस्याको वास्तविक पहिचान गरी सरोकारवालासँग आवश्यक परामर्श गर्न पनि महासंघले निगमसँग माग गरेको छ । साथै १४।२ केजीको सिलिण्डरको उचित व्यवस्थापन गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगबाट हुने खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री-वितरण गर्ने व्यवस्था गर्न निगमसँग जोडदार माग गरेका छन् ।
