दसैँका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायबीच भएको उच्चस्तरीय बैठकले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुलाउने निर्णय गरेको हो ।

यस वर्षको दसैँ अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ । यात्रुको सुरक्षा, सुविधा तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन बैठकले विभिन्न निर्णयसमेत गरेको छ ।

निर्णयअनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ । टिकट काउन्टरमा खटिने कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य रूपमा लगाउनुपर्नेछ । यस्तै, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने विभागले जनाएको छ ।

चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ । पारदर्शी टिकट प्रणालीका लागि सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिने भएको छ ।

यात्रुको सुरक्षित यात्रा तथा राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।

बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको चापलाई व्यवस्थित गर्न र टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न सुरक्षा निकायको प्रभावकारी परिचालनमा पनि बैठकले जोड दिएको छ ।

दसैँ-तिहारको समयमा सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षबीच समन्वय गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ ।

सम्बन्धित खबर