संरक्षित वन्यजन्तु भालुको पित्तसहित एक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेबाट उक्त आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद-बिक्री गर्न ल्याएको अवस्थामा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-१ सिसनियाका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरी रहेका छन् ।
उनको साथबाट भालुको पित्त जस्तो देखिने आखेटोपहार एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । तत्काल तौल गर्दा उक्त आखेटोपहार १४० ग्राम रहेको थियो ।

पक्राउ परेका चौधरीलाई बरामद आखेटोपहारसहित आवश्यक कानुनी कारबाहीका लागि असोज १९ गते डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ ।