पाल्पामा १२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

दियोपोस्ट संवाददाता

काठमाडौँ । पाल्पामा प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङको संयुक्त टोलीले तानसेन नगरपालिका-६ काजीपौवास्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा भन्सार छली ल्याइएका कस्मेटिक सामान बरामद गरेको हो।

प्रहरीका अनुसार असोज १८ गते आइतबार दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ३ च ३४९५ नम्बरको भ्यान जाँच गर्ने क्रममा अन्दाजी ९ लाख ७३ हजार ८२० रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका कस्मेटिक सामान फेला परेका थिए।

प्रहरीले भ्यानसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाएको जनाएको छ।
त्यस्तै, असोज २० गते मंगलबार बिहान तिनाउ गाउँपालिका-३ चेकपोस्टस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दोभानबाट खटिएको टोलीले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु प्र ०१००१ ज ०४४८ नम्बरको हाइस जाँच गरेको थियो।

जाँचका क्रममा उक्त हाइसबाट अन्दाजी २ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरका भन्सार छली ल्याइएका सामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जनाएको छ।

दुवै घटनामा बरामद सामानको कुल मूल्य अन्दाजी १२ लाख २१ हजार ८२० रुपैयाँ रहेको छ।