
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । अकेला यसअघि बैंकको नायब महाप्रबन्धक (डीजीएम) तथा प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए ।
उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन् । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव रहेका अकेलाले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन् ।
यसैगरी, उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहेका छन् ।
अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।
बैंकले उनको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापन तथा कार्यसञ्चालन दक्षताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।