देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशका विभिन्न भूभागमा आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदली रहने र बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

राति हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी वर्षा मानिन्छ । १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।

यसअघि पछिल्लो २४ घण्टामा पनि देशका विभिन्न स्थानमा वर्षा भएको थियो । कास्कीमा भारी वर्षा मापन भएको थियो भने अन्य धेरै स्थानमा समेत उल्लेख्य वर्षा भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस