हुम्लामा वर्षा र हिमपातले जनजीवन प्रभावित

दियोपोस्ट संवाददाता

काठमाडौँ । हुम्लामा मंगलबार रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ।

वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

सर्केगाड गाउँपालिका-१ जैरको खच्चाका दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो जाने समस्या रहेकाले वर्षासँगै सडक थप जोखिममा परेको छ ।

उनका अनुसार निरन्तर वर्षाका कारण कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । वर्षाका कारण पाक्न लागेको अन्नबाली, खेतबारीमा रहेका तरकारीलगायतका बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

वर्षा र हिमपातका कारण पशुचौपायामा समेत समस्या भएको छ। चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन् ।

अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासनले आग्रह गरेको छ।

जिल्लाका विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले आग्रह गरेका छन् । उनका अनुसार वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । अहिले पनि हुम्लामा निरन्तर वर्षा भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस