
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ।
थप पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
मौसम विभागका अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा अर्घाखाँचीको सिमलपानी मापन केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) मापन गरिएको छ।
आज दिउँसो र रातिको मौसम पूर्वानुमान
दिउँसो: देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल र अन्य तराई क्षेत्रमा आंशिक बादल रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।
राति: सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल रहनेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनसक्छ । बिहानीपख तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।