
काठमाडौँ । हिजो कोशी र मधेश प्रदेशका केही स्थानसहित देशका अधिकांश क्षेत्रमा वर्षा भएको थियो । आज पनि धेरै स्थानमा वर्षाको सम्भावना रहे पनि हिजोको तुलनामा वर्षाको मात्रा कम हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि वर्षाको मात्रा केही बढ्ने र पर्सि भने वर्षा हुने स्थान तथा मात्रा दुवै घट्ने सम्भावना छ । वायुमण्डल अझै अस्थिर रहेकाले केही स्थानमा मेघगर्जन, चट्याङ, असिना तथा छोटो समयका लागि भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार अब वर्षा रोकिन करिब तीन दिन बाँकी छ । उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहने देखिए पनि त्यसपछि एक-दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश क्षेत्रमा मौसम खुल्दै जाने सम्भावना छ ।
उनले त्यसपछि दसैँको अनुभूति हुने गरी मौसममा सुधार आउने सम्भावना रहेको बताए । घटस्थापनाको भोलिपल्ट अर्थात् सोमबारदेखि किसानले धान काट्ने तथा हाइकिङ र ट्रेकिङमा जानेहरूले यात्राको योजना बनाउन सक्ने उनको भनाइ छ । तर, लगातारको वर्षाका कारण जमिन भिजेकाले ठाउँ–ठाउँमा पहिरोको जोखिम अझै रहेकाले यात्रा गर्नुअघि बाटोको अवस्था राम्रोसँग बुझ्न उनले अनुरोध गरेका छन् ।