साउदीका दुई विमानस्थलमा हुथी विद्रोहीको आक्रमण : ३ जनाको मृत्यु, ३६ घाइते

दियोपोस्ट संवाददाता

एजेन्सी । साउदी अरेबियाका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा परी तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३६ जना घाइते भएका छन् ।

साउदी नागरिक उड्डयन प्राधिकरण (जीएसीए) का अनुसार मंगलबार र बुधबार आभा अन्तर्राष्ट्रिय विमानस्थल र राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दुई छुट्टाछुट्टै आक्रमण भएका हुन् ।

आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक मोरक्कन र एक अल्जेरियन महिला गरी दुई जना बासिन्दाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । त्यसैगरी, किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक सुडानी नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना साउदी नागरिकसहित आठ जना घाइते भएको जीएसीएले जनाएको छ।

घटनापछि नागरिक उड्डयन प्राधिकरणले क्षतिको आकलन गर्नका साथै यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सुरक्षा निकायहरूसँग पूर्ण समन्वय र निरन्तर सहकार्यमा काम भइरहेको बताएको छ ।

यसैबिच, साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले सेनाले रियादको उत्तरी क्षेत्रतर्फ लक्षित ब्यालिस्टिक क्षेप्यास्त्रलाई हावामै रोक्न सफल भएको जानकारी दिएका छन् । साथै, साउदी राजधानीलाई लक्षित गरी आक्रमण गर्न प्रयोग गरिएको यमनको राजधानी सानामा रहेको एक प्रक्षेपण स्थल (लन्चिङ प्लेटफर्म) लाई समेत सेनाले ध्वस्त पारिदिएको छ।

सम्बन्धित खबर

सिफारिस