काठमाडौँमा वायु प्रदूषण हानिकारक ठान्ने ८१ प्रतिशत, आधिकारिक डाटाभन्दा आफ्नै इन्द्रियमा निर्भर ९४ प्रतिशत

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणप्रतिको जनचासो उच्च रहे तापनि भरपर्दो र आधिकारिक जानकारीमा पहुँचको भने ठूलो खाडल रहेको ‘ताजा इनिसिएटिभ नेपाल’ सर्वेक्षणले देखाएको छ ।’ताजा इनिसिएटिभ नेपाल’ले हालै काठमाडौँ उपत्यकाका १ हजार २ सय बासिन्दामाझ गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

गैर-नाफामूलक संस्था इनिसिएटिभ  नेपालले गरेको सर्वेक्षण अनुसार, ८१ दशमलव २ प्रतिशत बासिन्दाले यहाँको हावालाई स्वास्थ्यका लागि हानिकारक मान्छन् । तर, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४ दशमलव १ प्रतिशतले आधिकारिक डेटाको सट्टा आफ्नै इन्द्रियहरू (गन्ध, दृश्यता, र आँखाको जलन) मा भर पर्ने गरेका छन् ।

उपत्यकावासीमा वायु प्रदूषणको तीव्र चिन्ता

सर्वेक्षण अनुसार उपत्यकाका ५२ दशमलव ३ प्रतिशत बासिन्दाले आफ्नो क्षेत्रको वायु गुणस्तरलाई खराब वा अति खराबका रूपमा मूल्यांकन गरेका छन् । प्रमुख सहरी केन्द्रहरूमध्ये ललितपुरका ६० दशमलव ९ प्रतिशत, काठमाडौँका ५९ दशमलव २ प्रतिशत, र भक्तपुरका ५६ दशमलव ० प्रतिशत  उत्तरदाताहरूले स्थानीय वायुको गुणस्तरप्रति नकारात्मक धारणा व्यक्त गरेका छन् भने उत्तर काठमाडौँमा यो दर ३५ दशमलव ९ प्रतिशत मात्र रहेको छ।

ज्ञान र डिजिटल निगरानीको अवस्था

वायु गुणस्तर परीक्षण गर्ने ज्ञान शैक्षिक स्तर अनुसार भिन्न पाइएको छ । प्राथमिक वा सोभन्दा कम शिक्षा भएका १० दशमलव ८ प्रतिशतले मात्र वायु गुणस्तर जाँच्न जानेको बताएका छन् भने स्नातकोत्तर वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेकाहरूमा यो दर ६३ दशमलव ० प्रतिशत छ ।

त्यस्तै, १८ देखि २४ वर्ष उमेर समूहका युवामध्ये वायु गुणस्तर ट्र्याक गर्ने ६० दशमलव ३ प्रतिशतले वेबसाइट र ४२ दशमलव ५ प्रतिशतले मोबाइल एप्स प्रयोग गर्ने गरे तापनि समग्र उमेर समूहका आधारमा यो अनुपात निकै न्यून (क्रमशः १४.१ र १०.०) प्रतिशत मात्र रहेको छ ।

प्रदूषणका स्रोत र सर्वसाधारणको बचाउ

उपत्यकावासीले मोटर सवारी साधनको धूवाँ (९८.६) प्रतिशत र सडक निर्माणको धूलो (९४.८) प्रतिशत लाई प्रदूषणका प्रमुख कारक मानेका छन् ।

बचाउका उपायमा ८२ दशमलव ० प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन् भने ४३ दशमलव ४ प्रतिशतले कुनै पनि व्यक्तिगत सुरक्षात्मक कदम नचालेको पाइएको छ । यस्तै, उपत्यका छाड्ने सोच बनाएका ७ दशमलव २ प्रतिशत बासिन्दामध्ये ३९दशमलव १ प्रतिशतले खराब वायु गुणस्तरलाई मुख्य कारणका रूपमा औँल्याएका छन् ।

सरकारी प्रयासप्रति असन्तुष्टि र सुधारको माग

वायु प्रदूषण न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासहरूप्रति ७० दशमलव ४ प्रतिशत उत्तरदाताले असन्तुष्टि व्यक्त गरेका छन् । ७९ दशमलव ९ प्रतिशत  बासिन्दाले सार्वजनिक यातायातको विस्तार र विद्युतीय सवारी साधनको प्रयोगलाई तथा ७१ दशमलव ५ प्रतिशतले कडा धूलो नियन्त्रण र सहरी हरियालीलाई जोड दिएका छन् ।

ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीका अनुसार, ‘पाँचमध्ये चार बासिन्दाले हावा हानिकारक रहेको ठाने तापनि प्रदूषण स्तर जाँच्ने तरिका १० मध्ये ६ जनालाई थाहा छैन ।’ संस्थाले आगामी दिनमा वायु गुणस्तर सम्बन्धी अनुसन्धान, सहज पहुँचयुक्त डेटा प्लेटफर्म र जनचेतनामूलक साक्षरता कार्यक्रममार्फत यो सूचनाको खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस