चाडपर्वमा स्वीकृत भाडादरभन्दा सस्तोमा आन्तरिक हवाई टिकट बिक्री गर्न सहमति

दियोपोस्ट संवाददाता

काठमाडौँ । चाडपर्वको समयमा आन्तरिक हवाई टिकट स्वीकृत भाडादरभन्दा सस्तोमा बिक्री गर्ने सहमति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी एवं प्रतिनिधिबीच बिहीबार भएको छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको हो ।

प्राधिकरणले दसैँ, तिहार तथा छठजस्ता चाडपर्वको समयमा आन्तरिक हवाई टिकटको अत्यधिक माग हुने र वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराइरहेको भन्ने गुनासो प्राप्त भएपछि छलफल आयोजना गरेको जनाएको छ।

छलफलपछि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा मात्र टिकट बिक्री तथा वितरण गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

साथै, सम्बन्धित वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने व्यवस्था आफ्नो वेबसाइट तथा टिकट बिक्री वितरण प्रणालीमा समेत सोहीअनुसार प्रकाशित गर्ने सहमति भएको छ । प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई बिहीबार भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस