
पोखरा । कास्की । कास्कीको पोखरा महानगरपालिका-२८ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। माझठानाबाट कालिकास्थित विद्यालयतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस ओख्लेको भिरबाट खसेको हो ।
शुक्रबार बिहान भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको खबर प्राप्त भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताएका छन् । यद्यपि, मृतकको पहिचान र मृत्यु हुनेको यकिन विवरण पुष्टि हुन बाँकी छ ।
प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन्। उद्धार कार्य सकिएपछि मात्रै मृतकको पहिचान गर्ने काम अघि बढाइने एसपी कार्कीले बताएका छन् ।
वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार दुर्घटनाका बेला बसमा करिब २२ जना विद्यार्थी सवार थिए । बस सडकबाट करिब २०० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परेको बसको नम्बर ग २ ख १४१७ रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। विद्यार्थीहरू कक्षा १० मा अध्ययनरत रहेको र परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । प्रारम्भिक उद्धारका क्रममा केही विद्यार्थीलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष लामिछानेका अनुसार बस चालकको खुट्टा भाँचिएको छ। अन्य घाइतेको अवस्था र घाइतेको कुल सङ्ख्याबारे भने विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
बस कसरी सडकबाट भिरमा खस्यो भन्ने खुलेको छैन । दुर्घटनाको कारणबारे पनि प्रहरीले अनुसन्धान गर्न बाँकी छ ।