दसैँमा सोमबारदेखि बिहीबारसम्म मौसम राम्रो रहने पूर्वानुमान

दियोपोस्ट संवाददाता

काठमाडौँ । यस वर्षको दसैँ अवधिमा सोमबारदेखि बिहीबारसम्म मौसम सामान्यतया राम्रो रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार अहिले सक्रिय मौसम प्रणालीले शनिबार(भोलि) सम्म वर्षा गराउने देखिएको छ । त्यसपछि सोमबारदेखि बिहीबारसम्म मौसम सामान्यतया राम्रो रहने सम्भावना छ ।

उनका अनुसार बिहीबार साँझदेखि शुक्रबारसम्म (असोज २९-३०) केही स्थानमा हल्का वर्षा हुन सक्छ । तर, आइतबार (असोज २५) पछि भारी वर्षा हुने संकेत भने अहिलेसम्म नदेखिएको उनले बताए ।

गत साता सम्भावना देखिएको न्यूनचापीय प्रणाली पनि हालसम्मको पूर्वानुमानअनुसार नेपालतर्फ आउने देखिएको छैन ।

दसैँको मौसमबारे धेरैले चासो राखेकाले यसपटकको पूर्वानुमानलाई दसैँ अवधिमा केन्द्रित गरिएको पोखरेलले बताएका छन् । यद्यपि, लामो अवधिको मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले आगामी दिनमा थप अद्यावधिक गरिने उनले बताएका छन् ।