पोखरा बस दुर्घटनाः ४ जना मृतकको पहिचान खुल्यो, १४ जना घाइते

दियोपोस्ट संवाददाता

पोखरा । कास्कीको पोखरा महानगरपालिका-२८ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा बसमा सवार ५ जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, १५ वर्षीया सुभेच्छा तिवारी, ६५ वर्षीय बाबुराम तिवारी र नामथर नखुलेका एक जना बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बाबुराम तिवारी उपचारका लागि पोखरा जान बसमा लिफ्ट मागेर चढेका थिए । दुर्घटनामा मृत्यु भएका विद्यार्थीहरूको उमेर अन्दाजी १३ देखि १४ वर्ष रहेको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचाररत तीन जना विद्यार्थीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूमा पोखरा-२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, सोही स्थानका १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना छन् ।

त्यस्तै, गण्डकी अस्पतालमा उपचाररत ११ जनामध्ये १५ वर्षीया असिम कँडेलको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अस्पतालमा उपचाररत घाइतेहरूमा १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर रहेका छन्। दुर्घटनामा बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी छ ।