सार्वजनिक इलेक्ट्रिक सवारीमा तोकियो नयाँ भाडा दर : कुन रुटमा कति पर्छ ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले अन्तरप्रदेशीय रुटमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ ।

सरकारले छोटो, मध्यम र लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक विद्युतीय सवारीको भाडादर परिमार्जन गरेको हो ।

यातायात व्यवस्था विभागले बिहीबार विद्युतीय यात्रुवाहक तथा मालवाहक सवारी साधनको दूरी र सडकको प्रकृति,  भौगोलिक बनावट र दूरीका आधारमा तराई तथा पहाडी सडकमा सञ्चालन हुने विद्युतीय सवारीको प्रतिकिलोमिटर अनुसार नयाँ भाडादर सार्वजनिक गरेको छ ।

कुन रुटमा कति पर्छ भाडा ?

नयाँ समायोजन अनुसार यात्रुवाहक विद्युतीय सवारी साधनको दूरी र रुट अनुसार तोकिएको भाडा दर निम्न अनुसार छ :

तराईको लामो दूरी (२५० कि.मी.भन्दा बढी) : पक्की तथा ग्राभेल बाटोमा प्रति किलोमिटर प्रति व्यक्ति रु २.९३ कायम गरिएको छ । तराईको मध्यम दूरी (२५ देखि २५० कि.मी)सम्म : प्रति किलोमिटर प्रति व्यक्ति रु. ३.०० तोकिएको छ ।काठमाडौँ-पोखरा र पोखरा-नारायणगढ खण्ड : पहाडी बाटो मानिने यी रुटहरूमा प्रति किलोमिटर प्रति व्यक्ति रु. ३.२४ भाडा दर कायम गरिएको छ।

सुविधा अनुसार थप शुल्क

साधारण भाडा दरबाहेक यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट प्रमाणित गराई विशेष सुविधा दिएका सवारी साधनले थप शुल्क लिन पाउनेछ :

डिलक्स सुविधा : विभागबाट डिलक्स प्रमाणित सवारीले तोकिएको सामान्य भाडामा २० प्रतिशत थप गरी लिन सक्नेछन् ।

सुपर डिलक्स सुविधा : सुपर डिलक्स प्रमाणित सवारीले डिलक्सको भाडा दरमा थप २० प्रतिशत जोडेर लिन पाउने व्यवस्था गरिएको छ।

सहुलियत र आचारसंहिता अनिवार्य

विभागले जारी गरेको आचारसंहिता अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको सहुलियत (छुट) अनिवार्य रूपमा दिनुपर्नेछ । यस्तो छुट दिँदा कुनै निश्चित रुट, कोटा वा दिन नतोकी सधैँ उपलब्ध गराउनुपर्ने र यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ।

साथै, लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, चालक तथा सहचालकले परिचयपत्र र पोसाक (ड्रेस) लगाउनुपर्ने व्यवस्था गरिएको छ।

बढी भाडा लिए कहाँ गर्ने उजुरी ?

तोकिएको भन्दा बढी भाडा लिएमा वा नियम पालन नगरेमा कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । यात्रुले बढी भाडा लिएको खण्डमा हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा तुरुन्त उजुरी गर्न सक्नेछन् ।

सम्बन्धित खबर

सिफारिस