
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा पूरै घर भाडामा लिएर सुनको अवैध कारोबार तथा ओसारपसार गर्दै आएको तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूले गत साउनदेखि बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भङ्गालस्थित अढाई तले घर भाडामा लिएर अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले सूक्ष्म निगरानीपछि बिहीबार उक्त घरबाट तीनै जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट २१ किलोभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु, नगद, ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण र विभिन्न कागजात बरामद गरिएको छ।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियान्झेन रहेका छन् । उनीहरू चीनको जियाङ्सु र ग्वाङडोङ क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा
प्रहरी अनुसन्धानअनुसार चिनियाँ नागरिकले गत साउनदेखि बुढानीलकण्ठस्थित उक्त अढाई तले घर भाडामा लिएर प्रयोग गर्दै आएका थिए। उनीहरूले घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्दै आएको खुलेको छ।
प्रहरी स्रोतका अनुसार घर भाडामा लिने क्रममा उनीहरूले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानीसमेत गरेका थिए । यसरी मासिक लाखौँ रुपैयाँ भाडा तिरेर पूरै घर प्रयोग गर्दै आएका उनीहरूले त्यही घरबाट सुनको अवैध कारोबार तथा ओसारपसार गर्दै आएको अनुसन्धानबाट खुलेको हो ।
उक्त घरका घरधनी हाल अमेरिकामा बस्दै आएको पाइएको छ । विष्ट थर भएका व्यक्तिको नाममा रहेको घर चिनियाँ नागरिकले भाडामा लिएर प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
२१ किलोभन्दा बढी पहेँलो धातु बरामद
प्रहरीले घरबाट तयारी र अर्धतयारी अवस्थामा रहेको गरी कुल २१ किलो ७५० दशमलव ६८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले परीक्षण तथा प्रमाणीकरण गरेअनुसार बरामद धातुमध्ये १० किलो ९९७ दशमलव ९३ ग्राम तयारी अवस्थामा र १० किलो ७५२ दशमलव ७५ ग्राम अर्धतयारी अवस्थामा रहेको छ।

प्रहरीका अनुसार बरामद पहेँलो धातुको अनुमानित बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ चार पैसा रहेको छ । धातुका अतिरिक्त प्रहरीले कारोबार तथा ओसारपसारमा प्रयोग भएका सामग्री, नगद र विभिन्न कागजातसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकले घर भाडामा लिएदेखि हालसम्म कसरी कारोबार सञ्चालन गर्दै आएका थिए, उनीहरूको कारोबारको सञ्जाल कहाँसम्म फैलिएको छ र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाएको जनाएको छ।




