कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितका लागि ४५ लाखभन्दा बढी सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रूपमा तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका छन् । रसुवा-त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले बैंकका कर्मचारीहरूले उक्त रकम संकलन गरेका हुन्।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम योगदान गरेको बैंकले जनाएको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न उपयोग हुने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने बैंकको विश्वास छ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको थियो।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापनका आवश्यक सामग्री उपलब्ध गराएको थियो।

कर्मचारीहरूको स्वैच्छिक योगदान तथा बैंकले यसअघि उपलब्ध गराएको आर्थिक र सामग्रीगत सहयोगले बाढी प्रभावित समुदायको राहत, उद्धार र पुनःस्थापना प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सिफारिस