
काठमाडौँ । दसैँ बिदाको समयमा पनि काठमाडौँ जिल्ला अदालत खुला रहने भएको छ । अदालतले मुख्य चाडपर्वका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ ।
अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन सेवा सञ्चालन हुने जानकारी दिएको हो ।
अदालतका अनुसार बिदाको समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन गर्ने तथा सोही क्रममा उपस्थित अभियुक्तको म्याद थप गर्नेलगायतका सेवा उपलब्ध हुनेछन् ।
त्यस्तै, कल डिटेल्स (सीडीआर) लिन अनुमति प्रदान गर्ने, पक्राउ अनुमति दिने तथा धरौटी दाखिला गर्न नसकी थुनामा पठाइएका प्रतिवादीले धरौटी रकम दाखिला गर्न ल्याएमा बुझिलिने व्यवस्था पनि गरिएको छ ।
फैसलाबमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्न सक्ने प्रतिवादीबाट जरिवाना रकम बुझिलिने सेवा पनि बिदाको समयमा उपलब्ध हुनेछ ।
