पर्यटक भिसामा नेपाल आई धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

विराटनगर । पर्यटक भिसामा नेपाल आएर धार्मिक शिक्षा, तालिम तथा धर्म प्रचारमा सहभागी भएको आरोपमा २४ जना कोरियाली नागरिक पक्राउ परेका छन् ।मोरङको सुन्दरहरैँचा नगरपालिका-७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था नेपाल न्यु कोभेनन्ट कलेजबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

कलेजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू असोज २० र २१ गते काठमाडौँ हुँदै विराटनगर आएका थिए । उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमा रहने कार्यक्रम रहेको थियो ।

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजमा धर्मशास्त्रसम्बन्धी अध्ययन तथा अध्यापन हुँदै आएको छ । कलेजले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

तर, पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम तथा धर्म प्रचारमा सहभागी हुन नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका २४ जना कोरियाली नागरिकलाई आजै अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरिएको स्रोतले जनाएको छ।

सिफारिस