
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण तथा नियमित मर्मतसम्भारका लागि विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध गर्न लागेको हो ।
प्राधिकरणको रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत ११ केभी एक्सएलपीई केबल जडान, नियमित मर्मतसम्भार र चार्जिङ कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो।
प्राधिकरणका अनुसार शनिबार गैह्रीधारा फिडरअन्तर्गत लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा क्षेत्र, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक क्षेत्र, बालुवाटार, चिनियाँ दूतावास तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस्तै, शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गत ओम अस्पतालको अपोजिटदेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल क्षेत्र, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर र चारखालस्थित इच्छुवान रेस्टुरेन्टलगायत आसपासका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
यसैगरी, आइतबार कालिकास्थान फिडरअन्तर्गत कालिकास्थान वरको बोट, डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल तथा रातोपुलदेखि सेतोपुलसम्मका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
प्राधिकरणले तोकिएको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार सुचारु गरिने जनाएको छ। विद्युत् कटौतीका कारण ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले थप जानकारीका लागि हटलाइन नम्बर ११५० वा आफ्नो वेबसाइटमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।