
काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप अत्यधिक बढेपछि यातायात सञ्चालनमा समस्या उत्पन्न भएको हो ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौालाई हेटौँडासँग जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, उक्त सडकखण्डमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि थप समस्या देखिएको छ, जसकारण नयाँ बसपार्कबाट छुट्ने सबै सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ।
दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको भिड बढिरहेको छ । यस्तो संवेदनशील समयमा राजमार्ग अवरुद्ध हुँदा अग्रिम टिकट काटेर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन् । गन्तव्यमा पुग्ने निश्चित समय नहुँदा उनीहरू थप मर्कामा परेका छन् ।
सडक भासिएको वा अवरुद्ध भएको स्थान मर्मत गरी यातायात सञ्चालन पूर्ण रूपमा सहज नबनाएसम्म काठमाडौँबाट बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।