बाढीपहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार २०८३ असोज २४ गते बिहान साढे ६ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।

बागमती प्रदेश

रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अर्को सूचना जारी नभएसम्म बन्द रहने प्रहरीले जनाएको छ । धादिङको धुनिबेसी नगरपालिका-९ खत्रीपौवामा पहिरो खस्दा त्रिभुवन राजपथ एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । त्यस्तै, गजुरी गाउँपालिका-५ गलौदीमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

गण्डकी प्रदेश

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी खण्डमा पहिरोका कारण बेनी-जोमसोम सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-३ स्थित जन्ती पहिरो क्षेत्रमा कालीगण्डकी करिडोर सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन चल्न सकेका छैनन् । त्यस्तै, बेँसीसहर हुँदै खाङसारसम्म जाने सडकखण्डमा बाढीका कारण एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

लुम्बिनी प्रदेश

गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेश

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ अन्देदुल्ला क्षेत्रमा पहिरोका कारण भेरी करिडोर सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ बालुवा संग्रही सडकखण्डमा पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकमा थुप्रिएको लेदो तथा पहिरो हटाउने र मर्मतसम्भार गरी यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण सडकको अवस्था फेरबदल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

सिफारिस