
सुर्खेत । सुर्खेतका दुई स्थानीय तहका तीन छुट्टाछुट्टै जंगलबाट प्रहरीले १८ नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले शुक्रबार चौकुने गाउँपालिकाका दुई स्थान र बराहताल गाउँपालिकाको एक स्थानबाट जंगलमा लुकाइछिपाइ राखिएका बन्दुक बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका-७ स्थित सान्नेघारीको जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी लगामसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका-१ स्थित धामिसेनको जंगलबाट १२ नाल भरुवा बन्दुक फेला पारेको छ।
यस्तै, प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका-१ स्थित ज्यामिरेको जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा परिचालित टोलीले विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा जंगलमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो।
बरामद भएका बन्दुकको स्रोत, जंगलमा लुकाएर राख्नुको कारण तथा घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।