शुल्क वृद्धि गरिएको छैन, नियम विपरीत लिए कारबाही हुन्छ : प्राधिकरण

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवाको शुल्क बढेको भन्दै समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शुल्क वृद्धि नभएको बताएको हो ।

प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन । प्राधिकरणले पनि इन्टरनेट सेवाको शुल्क बढाउन कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।

प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्राधिकरणले प्रचलित नियम र स्वीकृत दरअनुसार सेवा प्रवाह गर्न सेवा प्रदायकलाई सचेत गराउँदै उपभोक्तालाई अतिरिक्त आर्थिक भार पर्ने गरी शुल्क नलिन आग्रह गरेको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रावधान स्मरण गराएको छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै प्राधिकरणले नियमविपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम सेवा प्रदायकमाथि कारबाही गरिने चेतावनी दिएको छ ।

 

सम्बन्धित खबर

सिफारिस