गलौंदीमा भासिएको पृथ्वी राजमार्ग आजै खुलाउने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाउन काम तीव्र पारिएको छ । त्रिशूली नदीका कारण सडक भासिएपछि अवरुद्ध भएको सडक खण्ड आज बेलुकादेखि सञ्चालनमा ल्याउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको प्रहरीले जनाएको छ ।

असोज २३ गते शुक्रबार साँझ सडक भासिएपछि पृथ्वीराजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो । सडकको करिब १०० मिटर भागमा चिरा परेको र करिब २० मिटर खण्ड भासिएको विवरण सार्वजनिक भएको थियो ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । सवारी आवागमन अवरुद्ध भएपछि एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गर्ने तयारी गरिएको छ ।

अवरुद्ध सडकभन्दा माथि रहेको साँघुरो कच्ची बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने भएको छ । वैकल्पिक मार्ग सञ्चालनमा आएपछि एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सिफारिस